राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गृहमन्त्री लेखकले गर्ने

बागमती एक्सप्रेस
५ फाल्गुन २०८१, सोमबार १३:५५

निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा १० बर्ष पछी हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको हो ।

निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा यही फागुन ६ गते मंगलबारबाट हेटौंडामा हुन लागेको राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

१८ गतेसम्म टिसीएन चौरमा हुने महोत्सव तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । स्टल, स्टेज निर्माण र मनोरञ्जनका साधन जोड्ने काम धमाधम भैरहेको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए । ‘६ गतेबाट हुने महोत्सवको तयारी धमाधम भैरहेको छ । हालसम्म करिब ८० प्रतिशत तयारी सम्पन्न भएको छ’, उनले भने । निर्माण व्यवसायी संघ मकवानपुरको भवन जीर्ण भएकोले नयाँ भवन निर्माणका लागि आर्थिक जोहो गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरणहरु र निर्माण सामग्रीको प्रदर्शनी र विक्रीलाई जोड दिइने आयोजकले बताएको छ । भोलि हुने राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने प्रचार प्रसार संयोजक सुरज बर्तौलाले बताउनु भयो ।

योसँगै महोत्सवमा गायन प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ हेटौंडा आइडल, राष्ट्रिय कलाकारहरुको प्रश्तुती, दैनिक उपभोग्य सामानहरुको प्रदर्शनी, सामुन्द्रिक माछाहरुको वृहत प्रदर्शनी, बहुराष्ट्रिय कम्पनीको उत्पादनको विक्री तथा प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनको प्रदर्शनी तथा प्रतियोगिता, मनोरञ्जनात्मक बाल उद्यान लगायत रहनेछ । महोत्सवको माध्यमबाट निर्माण सामग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्क हुने र यसबाट व्यवसाय वृद्धिसँगै उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धा हुने अध्यक्ष कंडेलले विश्वास व्यक्त गरे । महोत्सवमा ३५० वटा स्टल रहने आयोजकले बताएको छ । हेटौंडामा हुन लागेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा चर्चित कलाकारहरुको सांगीतिक प्रश्तुती रहने भएको छ । ६ गतेबाट सुरु हुने महोत्सवमा ७ गते सुगम पोखरेल र उनको ब्याण्ड तथा १४ गते राजु लामा नेतृत्वको मंगोलियन हार्ट ब्याण्डको प्रश्तुती रहने आयोजकले बताएको छ । चर्चित कलाकारहरु पशुपति शर्मा, दुर्गेश थापा, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, विश्व दोङ, अस्मिता अधिकारी, उर्गेन दोङ, कमल खत्री, शान्तिरानी परियार, रमेशराज भट्टराई, जिबब, पुस्कल शर्मा, राजु परियार, ज्योति मगर, हेमन्त शर्मा, प्रिति आले लगायतको प्रश्तुती रहने आयोजकले जानकारी दिएको छ । ‘प्रत्येक दिन ३ देखि ५ जना राष्ट्रिय कलाकारहरुको विशेष सांगीतिक प्रश्तुती रहनेछ’, महोत्सवको प्रचारप्रसार समितिका संयोजक समेत रहेका संघका उपमहासचिव सुरज बर्तौलाले भने, ‘महोत्सवलाई सफल बनाउनका लागि आयोजकको तर्फबाट सबै प्रयास गरिरहेका छौं ।’ राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको तयारिको बिषयमा मुल आयोजक समितिले आज पत्रकार सम्मेलन गरि जानकारी गराउने कार्यक्रम तय भएको बर्तौलाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*