रात परेपछि शुरु हुन्छ हेटौंडामा मारमुंग्री , धक्का मुक्का

प्रशासनलाई अटेर गर्दा अशान्त बन्यो हेटौंडा
बागमती एक्सप्रेस
१९ फाल्गुन २०८१, सोमबार २०:५६

बागमती प्रदेशको राजधानी हेटौडा जति सुन्दर सफा शान्त र सानो रहेको छ, त्यत्तिकै यहाँको रात्री दुनियाँ पनि निकै रङ्गिन छ ।

दिउँसो शान्त रहने हेटौडा बजार रात्रिकालिन समयमा उश्रङ्खल, उत्ताउलो, समाजले पचाउन नसक्ने र अशान्त रहन्छ । कारण हो यहाँको रात्रि व्यवसाय अन्तर्गत केही होटल लज दोहोरी साँझ र डान्सबारहरू रातभर खोल्नु । विशेषगरी दोहोरी साँझ र डान्सबारमा दिनहु झगडा हुन्छन् दिनहुँ मारपिट चलिरहन्छ। सँगसँगै खुलेआम यौन कारोबार देह व्यापार हुने गरेको छ ।नेपाली समाज र नेपालको कानुनले नै वर्जित गरेका यी व्यवसाय रातको समयमा खुलेआम चल्छन् हेटौडा बजारमा, तर पनि यसलाई नियमन, निगरानी र नियन्त्रण गर्न यहाँको स्थानीय प्रशासन, प्रहरी कसैको पनि तागत देखिएको छैन ।

जिल्ला प्रहरी कार्यालयको ५०० देखि १ किलोमिटर आसपासमा यस्ता गतिविधिहरु सधैं हुने गर्दछन्। प्रहरी कार्यालयकै एक किलोमिटर भित्रै पर्ने क्षेत्रमा अधिकांश डान्सबार होटल र दोहोरी साँझहरु रहेका छन् तर पनि प्रहरीले यस्ता गतिविधि गर्नेहरुलाई कहिल्यै देख्दैन । प्रहरीको नजरमा यी सबै जे छन् ठिक छन् र ठिकै चलिरहेका छन् जस्तै भएको छ ।

बागमती एक्सप्रेस लगायतका बिभिन्न संचार माध्यमले यसबारे लगातार समाचार प्रकाशन गरिरहेको छ ।समाचार आएपश्चात केही सक्रियता जनाए पनि यहाँको प्रशासन र प्रहरीले झारा तिर्ने काम मात्र गरिरहेको छ ।यहाँका अधिकांश डान्स बारमा रातभर होहल्ला गर्ने र हानाहान गर्ने सामान्य नै बनेको छ । प्रहरीले भने यस्ता गतिविधिलाई देखिरहेको छैन वा देख्न चाहेको छैन प्रहरी प्रशासनानै जानुन ।

प्रहरी र प्रशासनकै सेटिङमा रातभर यस्ता व्यवसाय सञ्चालन भइरहेको आजित बनेका स्थानीयहरूको गुनासो छ । पटकपटक स्थानीय प्रशासन र प्रहरी प्रशासनका गएर ध्यानाकर्षण गराउँदा समेत प्रहरीले वास्ता नगर्ने उनीहरूको आरोप छ।

कुरा गरौं गएको मध्यरातको । राति २ बजेको समयमा हेटौडा १० राप्ती रोडस्थित आर.के. कम्प्लेक्समा रहेको ब्लुमुन डान्स बारमा मारमुंग्री चल्यो । दुई बजेसम्म टन्न मादक पदार्थ सेवन गरेका र उशृङ्खल गतिविधि गरेर नअघाएपछि नेपाली समाजले नस्वीकार्ने र काम थुनेर सुन्नुपर्ने शब्दहरू प्रयोग गर्दै महिला र केही पुरुषबीच कुटाकुट् चल्यो ।अपशब्द प्रयोग गर्नेमा पुरुषभन्दा त्यहाँ रहेका युवती अग्रपंक्तिमा थिए। लगभग १५/२० मिनेटसम्म कुटाकुट चलिरहँदा कोही स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी आइपुग्यो तर प्रहरी पनि आफ्नै तालमा मस्त हुँदै एकनासले दृश्यहरु आँखाले मात्र कैद गरिरहे । करिब एक घण्टा जतिको घमासान वाक र कुटाकुट युद्धपछि केही आआफ्नो बाटो लागे।  त्यो भिड तितरबितर भयो। वरपर का छरछिमेक झ्याल खोलेर बाहिर हेरेर बसेका थिए। सँगै रहेका परिवारहरू त्यस्ता सुन्नै नसक्ने अपाच्य शब्दहरू सुनेपछि आफ्नो घरमा होइन कि कुनै त्यस्तै उश्रृङ्खल हर्कत गर्ने अखडामै पो भएको जस्तो महसुस गरे ।

यो सामान्य विषय होइन यहाँको स्थानीय प्रशासन र प्रहरीले नियमन र नियन्त्रण गर्न नसक्दा त्यस्ता गतिविधिहरु हेटौडामा मौलाउँदै गइरहेका छन् । यहाँ सञ्चालित डान्सबार र दोहोरी साँझकै कारण यस्ता उश्रृङ्खल गतिविधिहरू बढ्दै गइरहेको छ भने यसैका कारण दुर्घटना भई मानिसको ज्यान समेत गएको छ ।

हेटौंडा बजारलाई केन्द्र बनाएर बजार आसपासमा संचालन भएका दोहोरी साँझ, डान्स क्लब जस्ता व्यवसायका कारण पछिल्लो समय हेटौंडा असान्त बन्दै गएको छ ।जब रात ढल्कदै जान्छ, त्यस पछी शुरु हुन्छ हेटौडामा मार मुंग्री, धक्का मुक्का र रङ्गीन दुनिया । हेटौंडालाई रात परे पछी असान्त बनाउन हेटौंडामा संचालन भएका दोहोरी साँझ देखि डान्स क्लब काफी छ । स्थानीय प्रशासनले रातको ११ बजे सम्म संचालनको मौखिक अनुमति दिएपनि प्रशासनको अनुमतिलाई सामान्य हेक्का समेत नराखी बिहान ३/४ बजे सम्मनै संचालन हुने गरेको छ ।

केहि दिन अघि हेटौडा १० बसपार्क बाईपास रोडमा रहेको हेटौंडा डान्स क्लबमा झडप हुँदा बसपार्क क्षेत्र नै तनाब ग्रस्त भएको थियो । उक्त घटना मिलाउन मकवानपुर प्रहरीलाई हम्मे हम्मे परेको थियो । मार मुंग्रीमा उत्रीएको क्लब संचालक बिरुद्ध किटानी जाहेरी बोकेर आएको पिडित पक्षलाई मकवानपुर प्रहरीले मिला पत्र गराएर पठाएको साता बित्न नपाउदै फेरी हेटौंडा उपमहानगरपालिका १० राप्तिरोडमा रहेको ब्लुमुन डान्स क्लबमा आज बिहान २ बजे पछी मार मुंग्री चल्दा मकवानपुर प्रहरिनै तैनाथ हुनु पर्ने अवस्था उत्पन्न भयो, तर त्यस्ता उश्रृङ्खल जमातलाई प्रहरीले छुदै छोएन ।

केही समयअघि जिल्ला प्रशासन कार्यालयले हेटौडामा यस्ता व्यवसाय राति ११ बजेसम्म मात्र खोल्नुपर्ने भन्दै निर्णय गरेको थियो। तर प्रमुख जिल्ला अधिकारी फेरिएपछि त्यो निर्णय कार्यान्वयन भइरहेको छैन। संचार माध्यममा केही समाचार आएपछि मात्र सिडियोको ध्यान केन्द्रित हुन्छ र एक कल फोनको भरमा प्रहरी प्रशासनलाई आदेश गर्छन् तर विडम्बना प्रहरी प्रशासन भने यस विषयमा हस् हजुर बाहेक कुनै कदम चाल्दैन । रातभरका यस्ता गतिविधिले यहाँका स्थानीय वाक्कदिक्क बनेका छन् । तरपनि स्थानीय प्रशासनले यसलाई नियन्त्रण गर्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*