सातौं बागमती गोल्डकप फागुन पहिलो सातादेखि विजेताले उपाधिसहित १० लाख पाउने
मोफसलमा निक्कै चर्चामा रहेको बागमती गोल्डकप फुटवल प्रतियोगिताको सातौ सस्करणको मिति तय भएको छ । बागमती गाउँपालिका मकवानपुरले आयोजना गर्ने उक्त गोल्डकप मोफसलकै ठुलो प्रतियोगिता मध्य एक हो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजना हुने बागमती गोल्डकपको सातौं संस्करण आउँदो फागुन १ देखि १० गतेसम्म हुने भएको छ ।
यस संस्करणको प्रतियोगिता बागमती–४, झुरभुरे स्थित नवनिर्मित शहिद स्मृति रंगशालामा हुनेछ । स्मरण रहोस, यसअघिका संस्करणहरु भने फापरबारी स्थित जनता माविको खेलमैदानमा सम्पन्न भएका थिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही पच्चीस हजार राशि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । उत्कृस्ट खेलाडीलाई एक लाख एक हजार नगद र सम्मानपत्र सहित सम्मान गरिने समेत आयोजकले जानकारी गराएको छ । खेलको म्यान अफ द म्याच प्राप्त खेलाडीलाई दश हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।
फुटबल खेलको प्रवद्धनका लागि लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सन्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । अध्यक्ष घलानले व्यवसायिक खेलाडी उत्पादन गर्नको लागि पालिकाले विगतका वर्षदेखि प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो । प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको ३० लाख सहयोग रहेको छ ।
आयोजकका अनुसार प्रतियोगितामा सात ए डिभिजन टोली र मोफसलका तीन टोलीहरु गरी कुल दश टोलीहरुले प्रतिस्पर्धा गर्ने पनि जानकारी गराइयो । प्रतियोगिता सम्पन्न करिब ७४ लाख ७३ हजार खर्च हुने अनुमान गरिएको आयोजकले जानकारी दियो । छैठौ संस्करण प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब, काठमाडौंले जितेको थियो ।
पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, लेखा अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल, वडा अध्यक्षहरु र सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।