दोस्रो चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिता भोलि बाट सुरु

बागमती एक्सप्रेस
२२ कार्तिक २०८१, बिहीबार १९:२९

मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघरमा भोली शुक्रबारबाट दोस्रो चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल चैनपुर जेसीज मनहरीको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालय र मनहरी गाउँपालिकाको प्रायोजनमा हुन लागेको प्रतियोगितामा जिल्लाका १६ क्लवले सहभागिता जनाएका छन् । आयोजकले प्रकाशित गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटनमा मनहरी ४ नम्बर वडा र नमोबुद्ध युवा क्लव भिड्ने भएका छन् । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गर्ने तय भएको चैनपुर जेसीज मनहरीका अध्यक्ष रविन ढकालले जानकारी दिए । मंसिर ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस जेसीले स्थापनाकाल अर्थात् अघिल्लो वर्षबाट जेसीज कप खुला फुटबल प्रतियोगिताको सुरुवात गरेको हो । फुटबल खेलको विकास एवम् युवाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनाका लागि प्रतियोगितालाई निरन्तरता दिँदै गएको अध्यक्ष ढकालले बताए । प्रतियोगिताका लागि करिब साढे ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जेसीजका महासचिव श्रीकृष्ण ढकालले बताए ।

प्रतियोगिताको संयोजक कार्यकारिणी उपाध्यक्ष महेश खुलाल रहेका छन् भने सहसंयोजकमा उपाध्यक्ष उज्वल विष्ट र खेलकुद संयोजक प्रदीप थापा रहेका छन् । अघिल्लो वर्ष भएको पहिलो संस्करणको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको थियो । पहिलो संस्करणको पुरस्कार राशी भन्दा अहिले दोब्बर बनाइएको छ । अघिल्लो संस्करण विजेतालले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँ प्राप्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*